• गृहपृष्ठ
  • छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अघ्र्य दिई पूजापाठ गरिने

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अघ्र्य दिई पूजापाठ गरिने

Nov 2nd, 2019

जनकपुरधाम, १६ कात्तिक (रासस)

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ  । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ । 

यसैबीच जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।