• गृहपृष्ठ
  • छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ :प्रम ओली

छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ :प्रम ओली

Nov 2nd, 2019

काठमाडौँ, १६ कात्तिक

प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ ।

छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ । “यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उहाँले सन्देशमा भन्नुभएको छ, “यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।”

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताउनुभभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।

छठपर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गर्नुभएको छ ।

उहाँले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।