• गृहपृष्ठ
  • पाकिस्तानी रेलमा आगलागी : मृत्यु हुनेको संख्या ७४ पुग्यो

पाकिस्तानी रेलमा आगलागी : मृत्यु हुनेको संख्या ७४ पुग्यो

Nov 1st, 2019

रहिम यार खान

पाकिस्तान, १५ कात्तिक (रासस/एएफपी)

पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । 

रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
  
घटनामा परी अरु दर्जनौ घाइते भएको र मृत्यु भएका र घाइते भएकाहरू तीर्थयात्री रहेको समाचारमा जनाइएको छ ।
  
पाकिस्तानको कराँची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डब्बामा आगलागी भएको थियो ।

कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा मृत्यु भएको हो । 

बिहीबार बिहान दुर्घटना भएको घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगर नजिकै पर्दछ ।

घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । साथै घटनाका बारेमा छानविनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् । 

रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लपरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन् ।