• गृहपृष्ठ
  • कानुनको अभावमा उम्कदै भित्रि कारोबारका अपराधी ,नियमावली बनाउँदै सरकार,

कानुनको अभावमा उम्कदै भित्रि कारोबारका अपराधी ,नियमावली बनाउँदै सरकार,

Nov 1st, 2019

काठमाडौं, १५ कार्त्तिक 
भित्रि कारोबारलाई पुँजी बजारको सबैभन्दा ठूलो अपराध मानिन्छ । तर, हाम्रो देशमा भने कानुनको अभावमा यस्ता अपराधी उम्कदै आएका छन् । जसलाई रोक्न बल्ल धितोपत्र बोर्डले भित्रि कारोबार नियमावली बनाउन लागेको छ । लगानीकर्तासमक्ष सार्वजनिक गर्नुपर्ने जानकारीलाई गोप्य राखेर कम्पनीका व्यक्ति वा उसको परिवारका सदस्यले सेयर किनबेच गरेमा त्यसलाई भित्री कारोबार भनिन्छ ।

तीन वर्षअघि जनता बैंकका तत्कालीन अध्यक्ष गुरु न्यौपानेले श्रीमती र छोराको नाममा सेयर खरिद गरेको प्रकरण बाहिर आएको थियो । माछापुच्छ्रे बैंकसँग जनता बैंक गाभिने तयारीका बीच त्यो कारोबार गरिएको थियो र पछि उनले श्रीमतीसँग पारपाचुके भएको र छोरासँग अंशबन्डा गरेको देखाएका थिए । त्यसमा पनि बोर्डले थप अनुसन्धान र कारवाही गर्न सकेन ।

सेयर बजारमा विभिन्न कम्पनीका भित्री सूचना चुहावट गरी कारोबारमा चलखेल गरेका कतिपय घटना नै सार्वजनिक हुँदा पनि राज्यको कुनै पनि निकायले त्यसमाथि अनुसन्धान गरी दोषीलाई कारवाहीको भागीदार बनाएको पाइँदैन ।

दुई वर्षअघि एभरेस्ट इन्सुरेन्सले २० प्रतिशत बोनस र ६ प्रतिशत हकप्रद सेयर दिन लागेको कुरा साधारण सभा बस्नु अगावै बाहिरियो । त्यसपछि धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको आशंकामा नेप्सेलाई कारोबार रोक्का गर्न निर्देशन दियो । केही दिन कारोबार रोक्का पनि भयो । तर गोप्य सूचना चुहाउने को थियो र त्यस चलखेलमा बजारका कुनकुन खेलाडी सक्रिय थिए भन्नेतर्फ कुनै निकायले खोजी गरेन ।

विभिन्न कम्पनीका संवेदनशील सूचना सेयर बजारका खेलाडीसम्म पहिल्यै पुर्याउने र त्यसै आधारमा अस्वाभाविक मात्रामा सेयर खरिद बिक्री गराई अनुचित लाभ लिने गरेका घटना बेलाबेला सार्वजनिक हुँदै आएका छन् । तर त्यसबारे गम्भीर अनुसन्धान र कारवाहीको परिपाटी स्थापित गरिएको छैन । यस क्षेत्रको प्रमुख नियामक निकाय धितोपत्र बोर्ड अहिलेसम्म कानुनी व्यवस्था अभाव देखाएर पन्छिँदै आएको छ । धितोपत्र ऐन २०६३ मा भित्री कारोबार गर्नेलाई बिगो बराबरको जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था भए पनि नियमावलीको अभाव देखाइरहेको छ ।