• गृहपृष्ठ
  • प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ : ग्राण्डी अस्पताल

प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ : ग्राण्डी अस्पताल

Nov 1st, 2019

काठमाडौँ, १५ कात्तिक (रासस)

ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताउनुभयो । प्रधानमन्त्री आजदेखि नै नियमित काममा फर्कन सक्ने उहाँले विश्वास दिलाउनुभयो

प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आइसियू)मा नराखिएको अस्पतालले प्रष्ट पारेको छ । प्रधानमन्त्रीलाई हेमोडायलासिस गर्ने क्रममा आइसियू कक्षको डायलासिस गर्ने कोठामा मात्र राखिएको डा पाण्डेले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण हुन नपाओस् भनेर सुविधा सम्पन्न कक्षमा डायलासिस गरिएको हो”, उहाँले भन्नुभयो, “बाहिर आएजस्तो आइसियूमा राखिएको होइन ।”

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा उहाँको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएको थियो ।