• गृहपृष्ठ
  • भारतमा सामूहिक हत्याका आरोपितलाई थुनामा राख्न आदेश

भारतमा सामूहिक हत्याका आरोपितलाई थुनामा राख्न आदेश

Oct 31st, 2019

बैतडी १४ कात्तिक (रासस)

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।

जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आज आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो । घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणामा लिएको हो । पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदूरको हत्या आफूले गरेको भारतीय प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ परेका बोहरा भारतमै मजदूरी गर्दै आएका थिए । बोहराले प्रहरीसमक्ष कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र पछी रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुङ्गाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैँले उनीहरुको हसियाले लिङ्ग काटेको बयान दिएका छन् ।