• गृहपृष्ठ
  • रिक्त पदको उपनिर्वाचनको तयारी एवं निर्वाचन आचार संहिताका सम्बन्धमा निर्वाचन आयोगको छलफल कार्यक्रम सम्पन्न

रिक्त पदको उपनिर्वाचनको तयारी एवं निर्वाचन आचार संहिताका सम्बन्धमा निर्वाचन आयोगको छलफल कार्यक्रम सम्पन्न

Oct 31st, 2019

काठमाडाैं, १४ कार्तिक 
यहि २०७६ मंसीर १४ गते शनिवारका दिन सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्य रिक्त पदको उपनिर्वाचनको तयारी एवं निर्वाचन आचार संहिताका सम्बन्धमा नेपाल सरकार, राजनीतिक दलका अध्यक्ष/प्रमुख/प्रतिनिधिहरुसँग आयोगले छलफल कार्यक्रम सम्पन्न गरेको छ । आयोगका मा. प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले कार्यक्रमको अध्यक्षता गर्नुका साथै उपनिर्वाचनको सन्दर्भमा आयोगले गरेको तयारी र निर्वाचन आचारसंहिता प्रस्तुत गर्नुभयो । 

यसै गरी आयोगका मा. निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले विगतको निर्वाचनमा आचारसंहिताको पालना सम्बन्धी अनुगमनबाट औल्याइएका विषयहरु जानकारी गराउनुभयो । आयोगका सबै माननीय आयुक्तहरुको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा नेपाल सरकारको तर्फबाट मा. उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले आचारसंहिताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुको साथै निर्वाचन आयोगलाई निर्वाचनका लागि सबै आवश्यक सहयोग उपलब्ध गराइने विश्वास दिलाउनुभयो । 

उक्त छलफल कार्यक्रममा मा. पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), मा. परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली लगायत राजनीतिक दलका अध्यक्ष/पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मा. पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले विगतका कमीकमजोरी र गुनासालाई समीक्षा गर्दै आगामी दिनमा सरोकारवाला सबैले निर्वाचन आचारसंहिता दृढताका साथ पालना गर्न सुझाव दिनुका साथै आचारसंहिताको पालना गर्न पार्टी प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित सबै राजनीतिक दलहरुले आयोगबाट जारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाउनुका साथै आयोगलाई आचारसंहिता पालना गर्न गराउन गम्भिर हुन र सो को प्रभावकारी अनुगमन गर्न सुझाव प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ ।