• गृहपृष्ठ
  • सामाजिक सुरक्षा कोषमा सूचिकरण हुने म्याद थपः के अब आउलान् त सबै कम्पनी कोषमा ?

सामाजिक सुरक्षा कोषमा सूचिकरण हुने म्याद थपः के अब आउलान् त सबै कम्पनी कोषमा ?

Oct 31st, 2019

काठमाडौं, १४ कार्त्तिक 
रोगारदाता कम्पनीहरु सामाजिक सुरक्षा कोषमा अपेक्षित रुपमा आवद्ध नभएपछि सरकारले कोषमा आवद्ध हुने समयावधि एक महिना थपेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै  कोषले सो समय थपेको हो । कोषले  बिहीबार एक सूचना प्रकाशित गरी सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप जनाएको छ । 

सरकारले असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग तथा प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मौका दिएको थियो । कोषका अनसुार सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक बिदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गरिएको हो । 

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई रोजगारदाता कम्पनीले श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निधारण गरेको छ । यसैका आधारमा सो कोषमा श्रमिकको न्यूनतम तलबको ११ प्रतिशत रकम जम्मा हुनेछ । 

यसैगरी सो रकममा रोजगारदाता कम्पनीले २० प्रतिशत थप गरी ३१ प्रतिशत कोषमा जम्मा हुने छ । यसरी सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने सक्ने कार्यविधिमा उल्लेख छ । 

भर्खरै स्वीकृत भएको  ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ अनुसार  श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अनुसारको चार प्रकारका  सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।

हालसम्म आठ हजार मात्र जोडिए कोषमा 
सामाजिक सुरक्षा कोषले ३ पटकसम्म रोजगारदाता कम्पनीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आह्वान गर्दा आठ हजार कम्पनी मात्र यस कोषमा जोडिएका छन् । सुरक्षा कोषमा आवद्ध गराउन सरकारले ल्याएका व्यवस्था तथा स्किीम चित्त नबुझेका कारण ति कम्पनी कोषमा जोडिन हिचकिचाएका हुन् । 

सरकारले २०७५ साउन १ देखि योगदनामा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याए थियो । सो कार्यक्रममा एक वर्षभित्र ९८ हजार श्रमिक र करिब ८ हजार ४ सय रोजगारदाता मात्र सूचिकरण भएका छन् । सरकारले गत आर्थिक वर्षदेखि कोषले ३ पटक सम्म म्याद थप्दै श्रमिक र रोजगारदाता कम्पनीलाई सूचीकरणका लागि आह्वान गरेको थियो ।

कोषले कार्यक्रमका लागि एयाएका स्किमले रोजगारदाता र श्रमिकको मन नजिते पछि लक्ष्य अनुसारको प्रगसित नभएको कोषले जनाएको छ । कोषले एक वर्ष्भित्र ९ लाख श्रमिक र १ लाखभन्दा धेरै प्रतिष्ठान सहभागिता गराउन योजना लिएको थियो ।

नेपालमा ९ लाख २३ हजार ३ सय प्रतिष्ठान सञ्चलानमा रहेको केन्द्रीय तंथ्याक विभागको राष्ट्रिय आर्थिक गणना २०७५ मा उल्लेख छ ।  यी प्रतिष्ठानमा करिब ३५ लाख श्रमिक रोजगारीमा कार्यरत रहेको विभागको गणनामा छ । यस आधारमा कोषमा जोडिएका रोजगारदाता र श्रमिकको संख्या  अत्यन्तै न्यून हो । जुन कूल तथ्याकंको २ प्रतिशत मात्र हुन आउँछ । अधिकांस साना तथा मध्यमस्तरका कम्पनीले सो कार्यक्रम ठूला रोजगारदाताको लागि मात्र उपयोगी भएको बुझाई छ । 

चौधरी ग्रुप, नर्भिक अस्पताल, बिएण्डबी अस्पताल, गोल्छा अर्गनाइजेसन, आम्दा नेपाल अस्पताल, डाबर नेपाल, सोल्टी होटल, सांग्रिला होटल, मेरियट होटल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर नेपाल लि, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पतालगायत ठुला रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषको कार्यक्रममा सहभागि भएको कोषले जनाएको छ  ।