• गृहपृष्ठ
  • चितुवा नियन्त्रणका लागि परम्परागत खोर, एक महिनाको अवधिमा दुई वटा चितुवा नियन्त्रणमा

चितुवा नियन्त्रणका लागि परम्परागत खोर, एक महिनाको अवधिमा दुई वटा चितुवा नियन्त्रणमा

Oct 31st, 2019

दमौली, १४ कात्तिक (रासस)

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा पााच बालबालिकाको मृत्यु भयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त सहभागितामा चितुवा नियन्त्रणका लागि दैनिक गस्ती शुरु गरियो । 

नगरपालिकाको विभिन्न वडाको सामुदायिक वनमा गस्ती गर्दा पनि उक्त टोलीले चितुवा  भेटाउन सकेन । गस्ती गरेर मात्रै चितुवा नियन्त्रणमा आउन नसक्ने स्थिति देखिएपछि स्थानीयवासीले काठको खोर निर्माण गरेर वनमा राख्ने जुक्ति निकाले । सोहीबमोजिम भानु नगरपालिका–२ फुस्रेटारका ७६ वर्षीय हरिभक्त ढकालद्वारा निर्माण गरिएको एउटा काठको खोर फुस्रेटारको सामुदायिक वनमा राखियो । उक्त खोर राखिएको एक महिनाको अवधिमा दुई वटा चितुवा नियन्त्रणमा आएको छ ।

चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि भानु नगरपालिका, डिभिजन वन कार्यालय र स्थानीयवासीले ढकालकै सहयोगमा काठको खोर निर्माण थालेका छन् । आधुनिक खोरले चितुवा नियन्त्रण सम्भव नदेखिएपछि परम्परागत काठको खोर निर्माण थालिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । “काठको खोर निर्माण गरेर वनमा राखेको छोटो अवधिमै दुई वटा चितुवा खोरमा प¥यो,” उप्रेतीले भन्नुभयो, “जसले गर्दा परम्परागत खोर चितुवा नियन्त्रणका लागि प्रभावकारी देखिएको छ ।

उप्रेतीका अनुसार चितुवा नियन्त्रणका लागि नौ वटा काठका खोर विभिन्न सामुदायिक वनमा राखिनेछ । जसमध्ये चार वटा निर्माण भएर सामुदायिक वनमा राखिसकिएको छ भने पाँच वटा खोर तिहारलगत्तै निर्माण सम्पन्न हुनेछ । स्थानीयवासी हरिभक्त ढकालले एउटा काठको खोर निर्माणका लागि कम्तीमा ११ दिन लाग्ने बताउनुभयो । चितुवा नियन्त्रणका लागि खोरमा बाख्रा पनि राख्ने गरिएको छ । “आहारा देखेपछि चितुवा उक्त खोरमा पस्ने र खोरमा पस्नेबित्तिकै चितुवा बाहिर निस्कन सक्दैन,” ढकालले भन्नुभयो ।

गत असोज १६ गते भानु नगरपालिका–२ फुस्रेटारमा राखिएको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको थियो । त्यसको पाँच दिनपछि असोज २१ गते चितुवाको आक्रमणमा परेर भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँको मृत्यु भएको थियो । कात्तिक ११ गते बिहान नै भानु नगरपालिका–३ दोरदोरमा राखिएको खोरमा अर्को चितुवा प¥यो, सोही दिन राति चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भयो । 

“दुई वटा भाले प्रजातिको चितुवा खोरमा परेपनि कुन नरभक्षी हो भन्ने पत्ता लाग्न सकेको छैन,” सहायक वन अधिकृत उप्रेतीले भन्नुभयो, “भालेभन्दा पोथी प्रजातिको चितुवा नरभक्षी हो कि भने अनुमान छ ।” भानु नगरपालिकामा १२ भन्दाबढी चितुवा रहेको अनुमान गरिएको छ । सोमबार भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा राखिएको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई सोही दिन चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ ।

चितुवा नियन्त्रणमा लिन १९ जनाको ‘विशेष सुरक्षा दस्ता’ भानु नगरपालिकामा खटिएका छन् । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार कार्यालयबाट चार, नेपाल प्रहरीबाट चार र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन् । जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्ने अधिकार दिएको छ ।

आहारा जङ्गलमा पाउन छाडेपछि बस्ती नजिकै चितुवाले बालबालिकामाथि आक्रमण गर्ने गरेको छ । बरालले भन्नुभयो, “साँझको समयमा चितुवा आउँदा बालबालिका बाहिर देखेपछि चितुवाले उनीहरुलाई नै आक्रमण गरेको पाइएको छ ।”

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जीता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।