• गृहपृष्ठ
  • मेस्सीको २ गोलसँगै बार्सिलोना शीर्ष स्थानमा

मेस्सीको २ गोलसँगै बार्सिलोना शीर्ष स्थानमा

Oct 30th, 2019

काठमाडौं, १३ कार्त्तिक
स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिडलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए । बार्सिलोनाका क्लेमेन्टले खेलको दोस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा भिडाल र ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म ३-१ गोलअन्तरले अघि रहेको थियो । त्यसपछि खेलको ७५औं मिनेटमा मेस्सी र ७७औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५-१ गोलअन्तरको जित दिलाएका थिए ।

जितसँगै बार्सिलोनाले १० खेलबाट २२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित रियल भालाडोलिड भने लिगको ९ औं स्थानमा छ । ग्रानाडा भने लिगको दोस्रो स्थानमा छ ।