सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

Oct 29th, 2019

काठमाडौं, कार्तिक १२
काठमाडौंको नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका ५ स्थित सडकमा बा.५ च ५०३५ नम्बरको आईचर गाडी अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मकवानपुर थाहा नगरपालिका १० घर भएका २३ वर्षीय विनोद लामाको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य तीन जनाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका ७ चोरमारास्थित सडकमा ना.१८ प २९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक कावासोती नगरपालिका ५ बस्ने २२ वर्षीय कृष्ण कुमालको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

सुर्खेतको चिङगार्ड गाउँपालिका ३ चिउडुवा भन्ने स्थानमा लु.१ ख ४८२३ नम्बरको बस उकालोमा लोड धान्न नसकी ब्याक हुँदा उक्त बसको ढोका नजिक बसेकी दैलेख डुङ्गेश्वर गाउँपालिका बस्ने १४ वर्षीया कमला बुढा बसको ढोकाबाट हाम फाल्दा  गई सोही बसको अगाडीको टायरले किच्दा उनको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

चितवनको खैरहनी नगरपालिका ८ पर्सा चोकस्थित सडकमा ना.६ ख १७४१ नम्बरको बसले ना.५५ प २१३१ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका १ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजली टोलस्थित सडकमा को.३३ प ५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका २२ बसपिट्टिस्थित सडकमा प्रदेश २-००१ प ३४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय करण मुखियाको घटनास्थलमै मृत्यु भएको छ  । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ साँधिखोलास्थित सडकमा बा.८९ प ८७४० नम्बरको मोटरसाइकल र ना.१ ज ५६६१ नम्बरको टाटा सुमो एक आपसमा सोमबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय सुभराज खत्रीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार फिक्कल गाउँपालिका ६ बस्ने १९ वर्षीय विजय दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।