जहाँ शिक्षकले चलाउँछन् वडा कर्यालय

Oct 28th, 2019

मनाङ, ११ कात्तिक (रासस)

मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ । 

यिनै अभावलाई टार्नका लागि र जनताकोे काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा  शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा  खटाइएको हो । जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा एक एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन् । 

प्रत्येक वडामा एक–एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा दुई वटा विद्यालय रहेको छ । विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो ।  स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ । “सरकारको मुख ताकेर बस्ने हो भने कर्यकाल सकिँदा पनि कर्मचारी पूरा हँुदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ”, अध्यक्ष घलेले भन्नुभयो ।  

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताउनुभयो । कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उहाँहरुले वडा सचिवको काम गर्दै आउनुभएको छ ।