• गृहपृष्ठ
  • सोलुखुम्बुमा लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

सोलुखुम्बुमा लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

Oct 28th, 2019

सोलुखुम्बु, ११ कात्तिक (रासस)

जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँिकदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७ः४५ बजेबाट शुरु भएको आगो राति ९ः३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुनुहुन्छ । 

एक हप्तामा करोड बढी क्षति

पछिल्लो एक हप्तामा नै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कनअनुसार कोइरालाको रु ९८ लाख बराबरको क्षति भएको थियो । 
 
यस्तै कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु ८५ लाख बराबरको क्षति भएको छ ।