• गृहपृष्ठ
  • उपनिर्वाचनः नेकपा चितवनले टुङगायो उम्मेदवार

उपनिर्वाचनः नेकपा चितवनले टुङगायो उम्मेदवार

Oct 28th, 2019

भरतपुर, ११ कात्तिक (रासस)

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा नेकपाको तर्फबाट भरतपुर महानगरपालिका–१६ मा भक्तराज हमाल, खैरहनी नगरपालिका–४ मा वेदबहादुर अधिकारी र खैरहनी–५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मत सिफारिशको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

यस्तै नेकपा चितवनले निर्वाचनलाई व्यवस्थितरूपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी, नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटी चयन गरेको छ ।

यस्तै खैरहनी नगरपालिका–४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र खैरहनी नगरपालिका–५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।