इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

Oct 28th, 2019

काठमाडौं, ११ कार्त्तिक
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामलाई पराजित गर्दै लिभरपुलले जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले टोटनहृयामलाई २-१ गोलअन्तरले जित हासिल गरेको हो ।

लिभरपुलको हकमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरेका थिए भने टोटनहृयामका लागि भने हृयारी केनले गोल गरेका थिए । खेलको पहिलो मिनेटमा नै हृयारी केनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलअन्तरले पछि परेको घरेलु टोली लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भएको थियो।

खेलको ५२औं मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरी दिलाएका थिए भने खेलको ७५औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीको सदुपयोग गर्दै सलाहले गोल गरेका थिए। उक्त गोलसँगै लिभरपुल २-१ गोलन्तरले अघि रह्यो । दुबै टिमले बाँकी समयमा गोल गर्न नसकेपछि लिभरपुलले जित हात पारेको थिए।

१० खेलबाट २८ अंक जोडेको लिभरपुल लिगको शीर्ष स्थानमा छ । २२ अंकका साथ म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ भने टोटनहृयाम भने लिगको ११औं स्थानमा छ ।