• गृहपृष्ठ
  • रोजगारीमा जाने बढ्दा पनि रेमिट्यान्स ओरालो, मुलुक सोधानान्तर बचतमा

रोजगारीमा जाने बढ्दा पनि रेमिट्यान्स ओरालो, मुलुक सोधानान्तर बचतमा

Oct 27th, 2019

काठमाडौं, १० कार्त्तिक 
विदेशमा गएका कामदारहरुले नेपालमा पठाउने रकममा गिरावट भएको छ । तर रोजगारीमा जाने कामदारहरुको संख्यामा भने सामान्य बृद्धि देखिएको छ र यो दुई महिनामा मुलुक भने सोधानान्तर बचतमा देखिएको छ । 

भदौ मसान्तसम्ममा ०.३ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।

खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

यो दुई महिनामा सोधानान्तर बचतमा भने सुुधार आएको छ। दुई महिनामा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको छ । त्यसैगरि चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता यो अवधिमा १९ करोड २५ लाख कायम भएको छ । पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।