• गृहपृष्ठ
  • उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाद

उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाद

Oct 27th, 2019

दमास्कस, १० कात्तिक (रासस/सिन्ह्वा)

सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाद गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो । 

राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले केही दिन पहिले गरेको सहमति कार्यान्वयन गराउन राजमार्गको एम–फोर सडकका विभिन्न क्षेत्रमा उक्त सैन्य बल तैनाद गरिएको छ ।”

टर्कीले अक्टोबर ९ तारिखमा सिरियाली कुर्दहरूलाई सीमा क्षेत्रबाट हटाउने उद्देश्यसाथ गरेका हवाई तथा स्थल आक्रमणका कारण ठूलोे सङ्ख्यामा कुर्दहरूको मृत्यु भएपछि रूसको पहलमा टर्कीसँग उक्त सहमति भएको थियो ।