• गृहपृष्ठ
  • हेटौँडाकी सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

हेटौँडाकी सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

Oct 27th, 2019

काठमाडौँ, ९ कात्तिक (रासस)

हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बन्नुभएको छ । 

आज काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बन्नुभएको हो । उहाँलाई पुरस्कारस्वरुप आजै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गर्नुभएको थियो ।

विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य हुनुहुन्थ्यो । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रफुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको परिचयको निम्ति सोरठी खोज्दा हाकुपटासी र धिमे खोज्दा धेरै कलाकृति साहित्यका फाँटमा तरेली लगाउँदा वास्तवमा नेपाली मन उद्देलित हुने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “त्यसबेला राष्ट्रिय भावना एकता, स्वाभिमान एवं स्वतन्त्रताको उचाइ प्राप्त हुन्छ ।” ऋषिमुनिको देशमा र प्रतिभाको देशमा आज प्रतिभा फल्ने र फुल्ने अवसर पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।