मनाइयो काग तिहार

Oct 26th, 2019

काठमाडौँ, ९ कात्तिक (रासस)

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर मनाइएको छ ।

 काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक शुरु भएको छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिने क्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
 
शुक्रबार अपराह्नदेखि नै कात्तिक कृष्ण त्रयोदशी शुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई मीठा–मीठा चिजबिज खान दिएर सम्मान गरिएको छ । यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ । देवता र दानवबीच समुद्र मन्थन हुँदा कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत घडासहित धन्वन्तरि पृथ्वीमा अवतरण भएको पौराणिक मान्यता छ ।