• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

Oct 26th, 2019

काठमाडौं, ९ कार्त्तिक 
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबिच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा  आयोजित एक समारोहबिच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । 
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुबै बैंकको वार्षिक साधारण सभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु हुने बैंकले जनाएको छ ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जर सम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबिच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा संजाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे । 

ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्था सँग र जनताले सात वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज रहको र यो वित्तीय क्षेत्रमा नयाँ किर्तिमान रहेको बताए । 

सो अवसरमा जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए । उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने बताए । 

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक र अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ ।

संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्बभन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै संयुक्त बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।