• गृहपृष्ठ
  • इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग

इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग

Oct 25th, 2019

काठमाडौँ, ८ कात्तिक (रासस)

काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।

कार्यस्थलमा रहेको ७५ प्रतिशत मजदूरलाई इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँका असरका बारेमा जानकारी नभएको आज यहाँ सार्वजनिक एक अध्ययनले जनाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ९रेस्फेक० नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोगसमेत पाइएको पनि जनाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोशीले नेपालमा वर्षेनी व्यवसायजन्य दुर्घटनामा  २०० भन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित बनाउन मन्त्रालयले निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह रहेको र मजदूरले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँले श्रमिकको वासस्थान चार फिटभन्दा अग्लो नभएको, भुइँको चिसोमा सुत्न बाध्य भएको, शौचालय अव्यवस्थित र खानेपानी पनि अस्वस्थकर पाइएको जानकारी दिनुभयो ।

नेपाल इँटा उद्योग व्यवसायी महासङ्घका महासचिव केपी अवालले इँटाभट्टामा कार्यरत श्रमिक मौसमी हुने भएकाले वर्षेनी कामदार फेरिने गुनासो गर्दै श्रम ऐनअनुसार मजदूरलाई सेवा सुविधा दिन कठिन अवस्था रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “महासङ्घ व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ ।”

कार्यक्रममा पाँचवटा प्रदेशमा इँटा प्रयोगशाला स्थापनाको तयारी भएको जानकारी दिइयो । आयोजक संस्थाका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मजदूरको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताउनुभयो । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा सरकार तथा रोजगारदाताले ध्यान दिएका छैनन् भन्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवर र जनस्वास्थ्य अभियन्ता प्रा डा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्बन्धमा नेपालमा खासै अध्ययन नभएको बताउनुभयो ।