• गृहपृष्ठ
  • चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

Oct 25th, 2019

सापोरो, जापान, ८ कात्तिक (रासस/सिन्ह्वा)

चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गर्नुभएको छ । 

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगढा बनाउन र नयाँ युगमा प्रवेश गर्नका लागि भ्रमणको निरन्तरता र सम्बन्ध विस्तारमा जोड दिइएको दुबै देशका अधिकारीहरुले बताएका छन् । 

उपराष्ट्रपति वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतको रुपमा जापानी सम्राट नारूहितोको राजगद्दी आरोहण  समारोहमा सहभागी हुन जापान जानु भएको थियो ।     

भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटमा उपराष्ट्रपति वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङको तर्फबाट हार्दिक अभिवादन प्रकट गर्नुभएको थियो ।
 
सो भेटवार्ताको क्रममा हालै जापानमा आएको भयावह विनाशकारी आँधी ‘हगीबिस’ बाट ज्यान गुमाएका र   घाइतेप्रति चिनियाँ सरकार र चिनियाँ नागरिकको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको थियो । 

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै वर्ष मे महिनामा जापानको सम्राट बन्नुभएको थियो । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।