• गृहपृष्ठ
  • बागमती नदीको सरसफाईमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी लिनुपर्नेमा जोड

बागमती नदीको सरसफाईमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी लिनुपर्नेमा जोड

Oct 25th, 2019

काठमाडौँ, ८ कार्त्तिक 
बागमती नदीको पूर्ण सरसफाईका लागि स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सरसफाईको जिम्मेवारी लिनुपर्नेमा जोड दिइएको छ । बागमती नदी सरसफाईका लागि तीनसय हप्ता भन्दा बढि काम गर्नुभएका अभियन्ताहरूको बिहीवार राजधानीमा आयोजित भेलाले बागमती भनेको नदि मात्र होइन, उपत्यकाको सभ्यतालाई बचाउन नदी मात्र होइन, यसका वरपरका पुरातात्विक धार्मिक सम्पदा र पर्यावरणीय सरसफाई पनि हुनुपर्छ त्यसका लागि स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको हो । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँ महानगरपालिकाको हरेक वडाले फोहर व्यवस्थापनको जिम्मेवारी लिएर फोहरलाई स्रोतमै छुट्याउन प्रोत्साहन गर्नुपर्ने र कुहिने फोहर व्यवस्थापनका लागि कौशी खेती गर्न स्थानीय बासिन्दालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा न. ११ का अध्यक्ष एवं बागमती सरसफाईका लाग अभियन्ता हिरालाल तण्डुकारले तीनसय भन्दा बढि हप्तासम्म निरन्तर सफाई गर्दा पनि पूर्ण सरसफाई नभएको भन्दै आलोचना भईरहेको र यस अभियानमा सहभागीता जनाएको  अनुभव सुनाउँदै स्थानीय तहले आ– आफ्नो क्षेत्रमै सरसफाईको जिम्मेवारी नउठाएसम्म बागमती सफाई गर्न सम्भव नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नदिको फोहर मात्र उठाएर हुन्न, नदि फोहर हुने मुल थलोदेखि सफाई गर्नुपर्नेपर्छ, वागमती नदिमा शाखा नदि १२ छन् र त्यस नदि बग्ने स्थानका स्थानीय तह वडास्तरमै बागमती नदी सफाईको लक्ष्यसहित जिम्मेवारी पूर्वक काम हुन आवश्यक छ ।” 

अध्यक्ष तण्डुकारले आफ्नो वडा क्षेत्रमा पर्ने वागमती पुलदेखि टेकु दोभानसम्म क्षेत्रमा बागमती किनारमा सरसफाई र त्यहाँका सम्पदा संरक्षण, वृक्षारोपणको काम गर्ने योजना सुनाउँदै त्यसका लागि सहयोग पनि जुट्ने स्थिती रहेको भन्नुभयो । 

कार्यक्रममा कनकमणी दीक्षितले भन्नुभयो, “२५ वर्ष अगाडि वागमती नदिको सफाई र नदि सरक्षणका लागि भएका सबै प्रयासमा आफुले सहभागिता जनाउँदै आएको अनुभव सुनाउँदै नदि साँघुरिएको छ, फोहरको उद्गम थलोमा सफाई नभए सफाई सम्भव हुन्न ।” 

संरक्षणकर्मी महेन्द्र श्रेष्ठले वागमती सफाईको अभियानमा नदि किनारका ऐतिहासिक सम्पदाको पनि संरक्षणलाई पनि जोड्नुपर्ने बताउनुभयो ।