• गृहपृष्ठ
  • दलित व्यक्तिलाई कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

दलित व्यक्तिलाई कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

Oct 24th, 2019

पाल्पा, ७ कात्तिक (रासस)

दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो । 

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ । कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन् । विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् ।