• गृहपृष्ठ
  • बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

Oct 24th, 2019

काठमाडौँ, ७ कात्तिक (रासस)

ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाडाँैमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो । 

विसं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सोही घटनामा सर्वोच्चले दोषी ठहर गरेको थियो । दुई दिनअघि मात्रै आफ्नै बाबुको हत्या गरेको आरोप लागेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले २० वर्षपछि पक्राउ गरेको थियो ।

दुर्घटनामा मृत्यु

काठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा बा४ख ८४०६ नंको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार बसले ठक्कर दिँदा गम्भीर घाइते नागार्जुन नगरपालिका–३ ठूलो भ¥याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पैदल हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
 
यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित आदर्शनगर चोक डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन् । बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्तमाया शाह आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।