• गृहपृष्ठ
  • गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Oct 23rd, 2019

धनुषा, कात्र्तिक ६

जनकपुर उपमहानगरपालिका १४ मुजेलियामा सोही उपमहानगरपालिका १ भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी  हत्या गरेको अभियोगमा सोही महानगरपालिका १४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान गोली प्रहार हुँदा गम्भीर घाइते भएका साहलाई जनकपुर अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनापश्चात तत्काल जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट अनुसन्धानमा खटिएको प्रहरीले सोही ठाउँस्थित ब्रम्हदेव यादवको घरमा लुकीछिपी बसेको अवस्थामा घटनामा संलग्न चौधरीलाई फेला पारी पक्राउ गरेको हो । 

साथै चौधरीको साथबाट नलकटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड र ७.६५ पेस्तोलमा लाग्ने गोली १५ राउन्ड तथा घटनास्थलबाट होममेड पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड र खोका २ थान प्रहरीले बरामद गरको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।