• गृहपृष्ठ
  • बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमाहल संचालनमा

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमाहल संचालनमा

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक
गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधासम्पन्न चार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा ल्याएको हो ।

बिहीबारबाट व्यवसायिकरुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६सिट क्षमता रहेको कम्पनीले जनाएको छ । थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुनदिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ । 

एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए । दर्शकले मुभिजको वेबसाइट बीएसआर मुभिज तथा टेलिफोनबाट सिनेमाको सीट बुकिंङ गर्न सक्नेछन् । मल्टिप्लेक्सभित्र कफी शप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् ।  अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुईवटा अत्याधुनिक सिनेमाहल काठमाडौँको बिजीमलमा वि.सं २०७३ देखि सञ्चालन गरिरहेको छ ।