• गृहपृष्ठ
  • विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक

संखुवासभा, पाँचथर, काभ्रे, रुपन्देही र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको  छ ।

संखुवासभा, पाँचखपन नगरपालिका-६ वाना बजारस्थित पार्किङ गरी राखेको को.३६ प ८८०३ नम्बरको मोटरसाइकलले थिचेर सोही ठाउँ बस्ने राज कुमार श्रेष्ठको ५ वर्षीय छोरा सिमन श्रेष्ठको मृत्यु भएको छ । सोमबार साँझ उक्त मोटरसाइकलमा खेल्ने क्रममा लडेर थिच्दा गम्भीर घाइते भएका सिमनको उपचारका लागि धरान घोपा हुँदै हेल्पिङ हेन्ड्स अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, हिलिहाङ गाउँपालिका-७ सल्लेरीस्थित सडकमा को.१२ प २६३ नम्बरको मोटरसाइकल ना.३ ख ५६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुम्मायक गाउँपालिका-५ बस्ने २७ वर्षीय सुनिल सम्वाहाम्फेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, बनेपा नगरपालिका-७ स्थित सडकमा बा.१८ च ३९५२ नम्बरको बलेरो जिपले बा.५० प ४४४७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार पाँचखाल नगरपालिका-७ बस्ने ४० वर्षीया सिता काफ्लेको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, सैनामैना नगरपालिका-१० सालझण्डीस्थित सडकमा रोकी राखेको ना.६ख ६१०२ नम्बरको ट्रकमा लु.२० प ९३२३ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उक्त मोटरसाइकलका चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
गुल्मी, कालिगण्डकी गाउँपालिका-३ नयाँखानीस्थित सडकमा लु.१ च ४५८६ नम्बरको बलेरो जिपको ठक्करबाट मंगलबार बेलुका गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका नयाँखानी बस्ने ४८ वर्षीय झम बहादुर बिकको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । उक्त जिपबाट सामान खसेकोले जिप रोकी सामान टिप्ने क्रममा जिप पछाडि गुडेर उनलाई ठक्कर दिएको थयो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।