• गृहपृष्ठ
  • बैंकहरुको आक्रामक लगानी बिस्तार , कार्त्तिकमै देखियो तरलता अभाव

बैंकहरुको आक्रामक लगानी बिस्तार , कार्त्तिकमै देखियो तरलता अभाव

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक
बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेसँगै यसको सिधा असर बैकिङ क्षेत्रमा परेको  छ । कार्त्तिकको पहिलो साताबाटै बैंकहरुमा लगानी योग्य रकमको अभाव भएको छ । बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गरेपछि ८० रुपैयाँसम्म ऋणको रुपमा लगानी गर्न सक्छन् । जसलाई हामी सिसिडी रेसियो अर्थात कर्जा पुँजी निक्षेप अनुपात भन्छौँ । तर अहिले केहि बैंकहरुको यस्तो अनुपात नै ८० भन्दा माथि रहेको नेपाल राष्ट्र बैंक बताउँछ ।

विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको छ । किनकी यो वर्ष पनि सरकारले समयमै बिकास निर्माणका काम अघि बढाएको छैन भने रेमिट्यान्स र बैदेशिक लगानीमा पनि त्यती ठुलो बृद्धि छैन । जसले गर्दा नै बैंकहरुमा तरलता अभाव देखिएको हो ।

विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो । तर नीतिगत पहलले पनि बैंकिङ क्षेत्रमा खासै परिवर्तन ल्याउन नसकेको देखिएको छ । बैंकहरुले असोज १० सम्म २९ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज २४ सम्म आइपुग्दा त्यो घटेर २९ खर्ब २४ अर्ब रुपैयाँमा झरेको थियो ।

त्यसैगरि असोज १७ सम्म २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज २४ सम्म आइपुग्दा २६ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ र असोज २४ गतेसम्म वाणिज्य बैंकहरूमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने २६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यसरी हेर्दा पछिल्लो समय बैंकहरुमा निक्षेप संकलनमा कमि आएको छ र जसको असर भने लगाीनीयोग्य रकममा परेको छ ।