अवैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट

Oct 23rd, 2019

बारा, ६ कात्तिक

जितपुर सिमरा उपमहानगरपालिका-७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका-३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।

साथै पहाडी टोल बस्ने ५२  वर्षीय खोब बहादुर दर्लामी मगर लगायत ४ जनालाई ३ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने सानो ठूला गरी २५ वटा आलमुनियमको भाँडा सहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उक्त कच्चा पदार्थ नष्ट गर्नुका साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।