• गृहपृष्ठ
  • चितवनमा एक होटलको स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

चितवनमा एक होटलको स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

Oct 21st, 2019

भरतपुर,४ कात्तिक (रासस)

चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १६ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो । 

उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

अस्पताल तोडफोडमा संलग्न ११ विरुद्ध मुद्दा दर्ता

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध आज मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो । 

एकजना बिरामी रहेकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको बताउनुभयो । म्याद थपसँगै अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । सो क्रममा छ प्रहरी घाइते भएका थिए । पूर्वी नवलपरासीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा शनिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।