• गृहपृष्ठ
  • तिहार नजिकिँदै गर्दा माटोका भाँडा बिक्री अत्यधिक

तिहार नजिकिँदै गर्दा माटोका भाँडा बिक्री अत्यधिक

Oct 21st, 2019

विराटनगर, ४ कात्तिक (रासस)

तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ ।
 
उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् । दियो प्रतिदर्जन रु १२, कलश जोडीको रु ५०, धुपुरो सानो प्रतिगोटा रु ५० र ठूलो रु ८०, ठूलो दियो प्रतिगोटा रु ३०, हण्डी रु १५ देखि रु ६० सम्ममा तथा मटकुरी रु १५ देखि रु ४० सम्ममा बिक्री वितरण हुने गरेको छ । व्यापारी निकै उत्साहित भएका छन् ।

विराटनगरका व्यापारी सन्तोष पण्डित माटोको भाँडा बनाउने मेशिन कामदारको अभावमा बन्द गरेर राख्नुपरेको बताउनुहुन्छ । “माटोको भाँडा बजारबाट किनेर बेच्ने गरेको छु”, उहाँले भन्नुभयो । माटोका सामग्री बाह्रैमास बिक्री वितरण हुने गरेको पण्डितले बताउनुभयो । “अरू बेलाभन्दा तिहारमा धेरै बिक्री हुन्छ”, उहाँले भन्नुभयो । 

माटोका भाँडावर्तन विवाहका अवसरमा पनि अत्यधिक मात्रामा बिक्री हुन्छ । माटोबाट तयार पारिएका भाँडोमा बिरयानी, दही जमाउन तथा कुल्फिका लागि बढीजसो प्रयोग गरिन्छ । प्लास्टिकको सामग्री बिक्रीमा कमी आएको छ । आफूहरुको पुस्तैनी व्यापार भएकाले यसैका भरमा परिवारको पालनपोषण गर्दै आएको व्यापारी पण्डितको भनाइ छ ।

व्यापारी देवनारायण साह माटोको भाँडाको व्यापारबाट आफू खुशी रहेको बताउनहुन्छ । तिहारमा घर–घरमा दियो बाल्ने परम्परका कारण माटोका सामग्री बिक्री बढी हुने गरेको उहाँको भनाइ छ । अर्का व्यापारी पप्पु साहले माटोको भाँडा किन्न भारतको चिमडीया, सोनापुर र सुनसरीको देवानगञ्जबाट समेत आउने गरेको बताउनुभयो । व्यापारीले माटोका सामग्री तीन महीना अघिदेखि नै निर्माण गर्न लगाउने गर्छन् ।