• गृहपृष्ठ
  • नक्कली सुन देखाई ठगी गरेको अभियोगमा छ जना पक्राउ

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा छ जना पक्राउ

Oct 21st, 2019

काठमाडौं, कात्तिक ४

सक्कली जस्तो देखिने एक किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा छ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।

काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाखरुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।