• गृहपृष्ठ
  • पाम आयलको निर्यात बढ्दा अर्थतन्त्र देखियो सकारात्मक, मुलुकको व्यापार घाटामा सुधार

पाम आयलको निर्यात बढ्दा अर्थतन्त्र देखियो सकारात्मक, मुलुकको व्यापार घाटामा सुधार

Oct 21st, 2019

काठमाडौं, ४ कार्त्तिक
आयातको तुलनामा देशबाट हुने निर्यात बढेपछि देशको व्यापार घाटा नै घटेको छ । विशेषगरि पाम आयलको निर्यात बढ्नु र हवाइजहाजका पार्टपुर्जाको आयात घट्दा व्यापार घाटामा सुधार देखिएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यो वर्षको सोहि महिनामा निर्यात २५ प्रतिशतले बढेको छ ।

सवारी साधन, क्लिंकर सिमेन्ट, इन्धनको आयातमा केही कमी आएपछि व्यापार घाटा घटेको देखिएको छ । समग्र व्यापार घाटा ३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ भएको छ । जबकी ०७५/७६ को पहिलो दुई महिनामा घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ थियो ।

दुई महिनाको अवधिमा २ खर्ब ४८ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये २ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ । १८ अर्ब रुपैयाँको निर्यात भएको छ । दुई महिनाको अवधिमा सबैभन्दा बढी वनस्पतीको तेल र घिउ अर्थात पाम आयल, धागो, तयारी पोसाक, पस्मिनाको निर्यात बढेको छ । पाम आयल मुख्यतः भारत नै निर्यात हुन्छ ।

भारतले तेलको कच्चा पदार्थमा ४० प्रतिशत कर  लगाउने गरेको छ । नेपालले भने यस्तो कच्चा पदार्थमा १० प्रतिशत मात्रै कर लगाउँछ । जसका कारण ३० प्रतिशत नाफा हुने भएपछि भारतिय मुलका मानिसहरुले नै नेपालका सिमा नाकामा उद्योग खोलेर भारत निर्यात गर्ने गरेका छन् । जसका कारण निर्यातमा उल्लेख्य सुधार आएको देखिएको हो ।  

साउन महिनामा पनि व्यापार घाटा कम भएको थियो  । साउन आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई ९७ अर्ब ८९ करोड रुपैयाँ  कायम भएको थियो । साउनमा पनि पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको थियो भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको थियो ।

वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको थियो भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको थियो ।