• गृहपृष्ठ
  • एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

Oct 21st, 2019

काठमाडौँ, ४ कात्तिक (रासस)

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र  बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र  बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ३५) ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र  बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस (एमबिबीएस १०० र  बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज (एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण 

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको  असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो  । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार  र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा  बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।