• गृहपृष्ठ
  • सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

Oct 20th, 2019

काठमाडौँ, ३ कात्तिक (रासस)

ब्रह्मपुरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका छोराछोरीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि लोकसेवाको तयारीलगायत अन्य प्रतिस्पर्धाका लागि कक्षा सञ्चालन गर्ने भएको छ ।

यसैगरी सदस्यहरूलाई शेयर लाभांशमा जम्मा हुन आएको रकमबाट १२ प्रतिशत र राहतकोषबाट तीन प्रतिशत गरी शेयर पूँजीमा १५ प्रतिशत रकम उपलब्ध गराउने र   महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गर्नेजस्ता योजना पनि सञ्चालन गरिने उक्त संस्थाको २१औँ वार्षिक साधारणसभामा जानकारी दिइयो ।

साधारणसभा शुभारम्भ गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सहकारीको रकम डुब्न नदिन नगर क्षेत्रभित्रका सहकारी संस्थाबीच एक ‘इन्फर्मेशन क्रेडिट सेन्टर’ स्थापना गर्नुपर्ने र यस काममा नगरपालिकाले सघाउने जानकारी दिनुभयो ।

केही सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेकाले त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरूको सुझावबमोजिम सहकारी ऐनमा केही कडा प्रावधान राखिएको जानकारी दिँदै उहाँले यसबाट राम्रा काम गर्ने सहकारीलाई परेको अप्ठ्यारो फुकाउन निर्देशिकालाई सरल बनाइने बताउनुभयो ।

उक्त नगरपालिका वडा नं ९ का अध्यक्ष वासुदेव शर्माले सहकारीले दिने सेवा प्रभावकारी हुनुपर्ने र विगतमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयन गराउनुपर्नेमा जोड दिँदै सहकारीको हितमा नगरपालिकाबाट सहयोग हुने जानकारी दिनुभयो । 

ललितपुर जिल्ला बचत सङ्घका सचिव श्याम महर्जन,  जिल्ला सहकारी सङ्का सञ्चालक शशिधर पोखरेल,  स्थानीय सहकारी संस्था समन्वय समितिका संयोजक देवेन्द्र पौडेललगायतले सहकारी संस्था सञ्चालनमा बाधा परेका सहकारी  ऐनका केही प्रावधान खारेज हुनुपर्ने, साधारण सदस्यलाई आफ्नो भूमिकाबारे जानकारी गराउनुपर्नेजस्ता विषयमा जोड दिनुभएको थियो । 

साधारणसभामा उक्त संस्थाका अध्यक्ष श्रीराम पौडेल ‘उदासी’ले उक्त संस्थाको गतिविधि,  लेखा समिति संयोजक अरुणकुमार पौडेलले लेखासमितिको प्रतिवेदन,  सचिव रामशरण घिमिरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपीकृष्ण घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।