• गृहपृष्ठ
  • जापानी थिएटरको सहकार्यमा थिएटर मल कीर्तिपुरमा पपेट कार्यशाला

जापानी थिएटरको सहकार्यमा थिएटर मल कीर्तिपुरमा पपेट कार्यशाला

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
जापानी कलाकारहरुको समूहका साथमा कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा थिएटरको एक विधा पपेट थिएटरको कार्यशाला सुरु भएको छ । ११ दिनसम्म सञ्चालन हुने ८० घण्टाको कार्यशाला दशैं लगत्तै सुरु भएको हो । 

जापानको उटरभिज न पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना गरेको हो । कार्यशालामा १५ नेपाली रंगकर्मी र १० स्कूले बालबालिका सहभागी छन् ।

जापानका पपेट थिएटरका अनुभवी पपेटियर तथा निर्देशक इरिना सजीले यस कार्यशालाको नेतृत्व गरेकी छिन् । उनी उटरभिजन पर्फमेन्स कम्पनी जापानकी कला निर्देशक समेत हुन् । उनको जापानी समूहका एरी तोमोई, इजावा रेई र मियामोतोले कार्यशाला सञ्चालनमा सहयोग गरिरहेका छन् ।

विशेषगरी बालबालिकाको लागि युरोपमा निकै प्रचलित पपेट थिएटर एसियाका धेरै मुलुकमा पनि उत्तिकै प्रचलित छ । एसियाली केही मुलुकको मौलिक पपेट हुनुका साथै विशेष रुपमा पपेट थिएटर गरिदै आएको पनि छ । यसै सन्दर्भमा एसियाली पपेटलाई फैलाउने क्रममा इरिना सजीको जानी समूह नेपाल आएका हुन् । 

नेपालमा पपेट थिएटरको खास प्रचलन नभएको थाहा पाएर नेपालमा कार्यशालाका लागि सहकार्य गरिएको जापानी निर्देशक इरिना सजीले बताइन् । उनी भन्छिन्, ‘एसियामा पनि पपेट थिएटरको लामो इतिहास छ, यहाँ पनि आफ्नै खाले पपेट प्रस्तुतिहरु हुने गरेका छन् । कुनै साँस्कृतिक रुपमा त कुनै थिएटरका रुपमा यहाँ प्रचलित छन् ।’

कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँगको सम्बन्धबारे छलफल गर्दै पपेट निर्माण, पपेटको सुव्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र पपेट थिएटर प्रस्तुति निर्माणमा सहभागीले अभ्यास गर्ने जनाइएको छ । 

दशैं र तिहारको बीचमा काठमाडौंका नाटकघरहरु लगभग विदामा हुने समयमा यो पटक थिएटर मलमा कार्यशाला राखिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए । उनले भने, ‘नेपालमा पपेट थिएटरको खास प्रचलन छैन, हामीले थिएटरको एउटा विधा पपेटलाई थिएटरमा ल्याउने प्रयास गरेका हौं ।’

सहभागीहरुले कार्यशालाको अन्तिम दिन पपेट थिएटर शो गर्नेछन् । त्यसको लागि अहिले समूहमा कथा छनौटको प्रक्रिया पनि भइरहेको छ । सहभागी बालबालिका र रंगकर्मीले छुट्टाछुट्टै पपेट प्रस्तुति दिनेछन् । कार्यशालको फाइनल शो कात्तिक ७ गते दिउँसो ३ बजे थिएटर मल कीर्तिपुर रंगमञ्चमा हुनेछ ।