‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक

Oct 20th, 2019

काठमाडौं, ३ कार्तिक 
त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । 

प्रदर्शन मिति नजिकिदै जाँदा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगेर दर्शकलाई विभिन्न खेल खेलाउँदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकित कप,पेन तथा डायरी प्रदान गरिरहेका छन् । दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपी कृष्णहलबाट सुरु गरिएको हो ।

फिल्मका प्रमुख अभिनेता यशराज गरच, अभिनेत्री फिजा योन्जन, ऋचा थापा तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । कलाकारको टोली शुक्रबार कमलपोखरीस्थित बिग सिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै फिल्मको प्रचार गरेको थियो । 

निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सह निर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एक जना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदानगर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शन भन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शो मार्फत उपहार बिजेता सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । 

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।