• गृहपृष्ठ
  • विदेशी पुस्तकको आयात ६० प्रतिशतले घट्यो

विदेशी पुस्तकको आयात ६० प्रतिशतले घट्यो

Oct 19th, 2019

काठमाडौं, १७ भदौ
विदेशबाट आयात हुने पुस्तक गत वर्षको तुलनामा यो वर्ष ६० प्रतिशतले घटेको छ । सरकारले आयातित पुस्तकमा १० प्रतिशत कर लगाएसँगै पुस्तकको आयात घटेको हो ।

भन्सार विभागका अनुसार यो वर्षको साढे दुई महिनामा नौ करोड आठ लाख रुपैयाँ बराबरका पुस्तक आयात भएका छन् । जबकी अघिल्लो वर्ष यही अवधिमा २४ करोड ९८ लाखका पुस्तक आयात भएका थिए । यसरी हेर्दा आयातीत पुस्तकमा १० प्रतिशत कर लगाएपछि  विदेशी पुस्तकको आयात ६० प्रतिशतले संकुचन भएको छ ।

नेपालमा हरेक वर्ष १ अर्बभन्दा बढीको कारोबार आयातीत पुस्तकको हुन्छ । समग्र पुस्तकको करोबार वार्षिक करिब चार अर्ब बराबरको हुने व्यवसायीहरुको भनाई छ । यो कारोवारमा  स्कुल  र विश्वविद्यालय स्तरका पुस्तकको हिस्सा झण्डै ७५ प्रतिशत छ ।

आयातीत पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउँदा  नेपालमा स्थापना भएका  मुद्रण उद्योग संरक्षण  हुने सरकारी दावी  छ । सरकारले १० प्रतिशतले भन्सार बढाउँदा बजारमा पुस्तक विक्रेताले भने २० प्रतिशतले मूल्य बढाएका छन् । पुस्तकको बिमा, ढुवानी खर्च वृद्धि, सामाजिक सुरक्षामा आबद्ध भएका कर्मचारीको दायित्व र घरबहाल करजस्ता विषयलाई बहाना बनाएर उनीहरुले मूल्य बढाएका हुन् । यसको मार पनि उपभोक्तामाथि नै परेको छ ।