• गृहपृष्ठ
  • समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

Oct 18th, 2019

सिबी अधिकारी काठमाडौँ, १ कात्तिक (रासस)

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाल सरकार र नेपाली जनताले हामी (एनआरएन) बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छ,ु हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु,” उहाँले भन्नुभयो

निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध बनाएर लैजाने बताउँदै अध्यक्ष पन्तले निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रण गर्नुभयो ।

एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सङ्घका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।

एनआरएनका महिला उपाध्यक्ष रविना थापाले आफ्नो जीत सम्पूर्ण एनआरएनको जीत भएको उल्लेख गर्दै सम्पूर्ण नेपाललाई जोड्न संस्थाले खेलिरहेको भूमिकालाई भविष्यमा थप बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संस्थामा अहिले महिला सहभागिता अत्यन्त न्यून रहेकाले महिला सहभागिता वृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले एनआरएनको विगतमा भएका कमीकमजोरीको सुदृढीकरण गर्दै विगतमा गरिएका प्रतिबद्धताको समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने बताउनुभयो । एनआरएन महिला संयोजक शोभादेवी लिम्बूले पदीय जिम्मेवारी बढेको र महिला हक अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने बताउनुभयो । एनआरएनको नवनिर्वाचित नेतृत्वले आजैदेखि पदभारग्रहण गरेको छ ।

नेपाल भ्रमण वर्षको सँघारमा भएको एनआरएनको नयाँ नेतृत्वका अवसर र चुनौती दुवै छन् । विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकको निरन्तर बढोत्तरी तथा पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी भित्र्याउने उपयुक्त अवसर पनि बन्ने विश्वास लिइएको छ । नेपालको कूटनीतिक सम्बन्ध नभएका मुलुकका समेत एनआरएनएको बलियो उपस्थिति रहेकाले नेपालको उचित प्रवद्र्धन गरी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नसक्ने सरकारले पनि विश्वास लिएको छ ।

सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी थिए । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म भएको सम्मेलनमा नेपालमा आर्थिक लगानीको सम्भाब्यता, लगानी भित्र्याउने वातावरण निर्माण तथा सङ्गठन सुदृढीकरण आदि विषयमा छलफल भएको थियो ।