• गृहपृष्ठ
  • राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : कमल थापा

राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : कमल थापा

Oct 18th, 2019

काठमाडौं, १ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई  सशक्त, प्रभावशाली र बलियो राष्ट्रवादी शक्तिको रुपमा देख्ने सपना पुरा नहुँदै स्वर्गवास हुनुभएका पार्टीका संस्थापक एवं केन्द्रीय सदस्य सत्यमान लामाको सपना सार्थक बनाउनतर्फ अग्रसर हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 

स्व. सत्यमान लामाको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सैद्धान्तिक विमती नरहेका राप्रपा र राप्रपा संयुक्तको एकिकरणले पार्टी मजवुद बनाउनेतर्फ बाटो खोल्ने भएकोले पार्टी एकतालाई सार्थक बनाउन राप्रपा संयुक्तलाई आह्वान समेत गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरी तदनुरुप अघि बढीरहेकोले संगठन विस्तार र पार्टी एकीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने प्रण गर्दै अध्यक्ष थापाले यी कार्यहरु पुरा गरेपछिमात्र पार्टीको हितको निम्ति अहोरात्र चिन्तित हुने नेता स्व. सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

स्व. लामाको निधनले पार्टीलाई अपुरणीय क्षती भएको बताउँदै अध्यक्ष थापाले पार्टीप्रति उहाँको निष्ठा, इमानदारीता, समर्पण भावलाई राप्रपाले कहिल्यै भुल्न नसक्ने र पार्टीका सम्पूण नेता तथा कार्यकर्ताहरुले उहाँबाट यही पाठ सिकेर कार्य गर्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो । 

श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक वोहराले विकास निर्माणमै दत्तचित्तहुने नेता सत्यमान लामालाई गुमाउनुपर्दा विशेषगरी काभ्रेपलाञ्चोकका जनता र सिंगो राप्रपालाई ठूलो क्षती पुगेको बताउँदै राष्ट्रवादी पार्टीहरु एक भएर मुलुक हाँक्ने स्व लामाको सपना साकार पार्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्बोधनकै क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले  समान विचार भएका पार्टीहरुसँग एकता गरी राप्रपालाई अग्रणी शक्तिको रुपमा पु¥याउने स्व. सत्यमान लामाको इच्छालाई पुरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ अग्रसर हुन सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री भास्कर भद्राले स्व. सत्यमान लामाको संक्षीप्त जीवनी बारे प्रकाश पार्दै पार्टी र राष्ट्रलाई स्व. लामाले पु¥र्याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा राप्रपा संयुक्तका कार्य सम्पादन समिति सदस्य एवं पूर्व प्रहरी महानिरिक्षक ध्रुव बहादुर प्रधान, राप्रपा जिल्ला कार्य समिति काभैका अध्यक्ष टुल्कु लामा लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।२०३६ सालदेखी सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका सत्यमान लामा २०३८ र २०४३ सालमा काभ्रेबाट अत्यधिक बहुमत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । २०४२ सालमा लामाले सञ्चार सहायकमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । ७४ वर्षको उमेरमा गत असोज ८ गते उहाँको स्वर्गारोहण भएको थियो ।