एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

Oct 18th, 2019

काठमाडौँ, १ कात्तिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

अध्यक्षमा कुमार पन्त अर्का प्रतिस्पर्धी कुल आचार्यलाई हराउँदै  विजयी बनेका हुन् ।

प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन् । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गोविन्दराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।

सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहनुभएको छ । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

मत गणना सकिएपनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।