• गृहपृष्ठ
  • तीन वर्षमा २० वटा जलविद्युत आयोजनाको आइपिओ सार्वजनिक, आधाभन्दा बढिको बिकेन, सरकारी योजना कागजमै सिमित

तीन वर्षमा २० वटा जलविद्युत आयोजनाको आइपिओ सार्वजनिक, आधाभन्दा बढिको बिकेन, सरकारी योजना कागजमै सिमित

Oct 18th, 2019

काठमाडौं, १ कार्तिक
पछिल्लो तीनवर्षमा २० वटा जलविद्युतआयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरे । तर ११ वटा जलविद्युत आयोजनाको सेयर भने पुर्ण रुपमा बिक्री नै हुन सकेन । यसअघिका जलविद्युत आयोजनामा गरेको लगानीबाट जनताले कुनै प्रतिफल पाउन नसकेपछि अहिले जलविद्युत आयोजनाको प्राथमिक सेयर नै बिक्न छाडेको देखिन्छ ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट बराबरको विद्युत उत्पादन गरि ५ हजार मेगावाट विदेशमा बेच्ने लक्ष्य राखेको छ । यसरी जलविद्युत आयोजनामा  सर्वसाधारण र स्थानियको लगानी नै नजुट्ने हो भने सरकारी योजना कागजमै सिमित हुने खतरा छ ।

गत असार अन्तिममा हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ३० करोड ९३ लाख २५ हजार कित्ता बिक्री खुला गर्याे । साथै यसले स्थानियका लागि भने १ करोड २७ लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्याे । स्थानियका लागि निष्काशन गरिएको सेयर ७ प्रतिशतमात्रै खरिद भयो भने सर्वसाधारणका लागि निष्काशन भएको सेयर ४१ प्रतिशतमात्रै खरिद भयो ।

सर्वसाधारण र स्थानियकालागिजारी गरेको बिक्री नभएको यो पहिलोपल्ट भने होइन  । यसअघि पनिग्रिनलाइफ हाइड्रोपावर,पाँचथर हाइड्रोपावर  शिबश्री हाइड्रोपावर र युनिभर्सल हाइड्रोपावरको सेयर सर्वसाधारणले खरिद नगरेको धितोपत्रबोर्ड बताउँछ ।

जलविद्युत आयोजनाको सेयरमा गरेको लगानीबाट जनताले प्रतिफल पाउन सकेका छैनन् । जसका कारण अहिले प्रतिफल दिने खालका आयोजनामा मात्रै सर्वसाधारणले सेयर लगानी गर्न लागेका छन् ।

सेयर बजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सयभन्दा पनि तल ओर्लिएको छ । २५ वटा रुग्ण आयोजना मध्ये ७ वटामा जनताले सेयरमार्फत ५५ करोड १६ लाख रुपैयाँ लगानी पनि अहिले जोखिममा परेको छ ।

जलविद्युत कम्पनीका प्रवर्धकहरुले स्वपुजी अर्थात इक्वीटी बढाई चढाई देखाउने र सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गर्ने गरेका कारण उनीहरुले लगानी अनुसारको प्रतिफलदिन सकेका छैनन् ।