• गृहपृष्ठ
  • सरकारले गर्यो पहिलो तीन महिनामा कूल बजेटको ११.४१ प्रतिशत खर्च

सरकारले गर्यो पहिलो तीन महिनामा कूल बजेटको ११.४१ प्रतिशत खर्च

Oct 17th, 2019

काठमाडौं, ३० असोज
सरकारले चालु आ.वको लागि ल्याएको  १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेटको  ११.४१ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एक खर्ब ७४ अर्ब ९२ करोड खर्च गरेको हो  ।

सो रकम सरकारले गत साउनदेखि असोजसम्मको अवधिमा खर्च गरेको हो  । हालसम्म भएको खर्च चालु आवको लागि विनियोजित चालु बजेटको १६.१७ प्रतिशत हो । चालु आवको लागि सरकारले नौ खर्ब ५७ अर्ब १० करोड खर्च विनियोजन गरेको छ ।

तीन महिनाको यस अवधिमा सरकारले विनियोजित पूँजीगत खर्चको ४.३८ प्रतिशत अर्थात १७ अर्ब ९७ करोड रुपैयाँमात्र खर्च गरेको छ । भदौ महिनासम्म ५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो । त्यसैगरी असोज महिनामा सो खर्च बढेर पौने १३ अर्बभन्दा पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यहि अनुपातमा खर्च हुँदै जाने हो भने सरकारले चालु आवको लागि विनियोजन गरेको पूँजी खर्च हुने छ ।

सरकारले यस आवको लागि चार खर्ब आठ अर्ब पूँजीगत खर्च विनियोजन गरेको थियो  ।

खर्च भन्दा राजस्व बढि
सरकारले खर्चको तुलनामा राजस्व वढि उठाएको छ । यस अवधिमा  सरकारले  एक खर्ब ८२ अर्ब ७० करोड राजस्व संकलन गरेको तथ्याङ्क छ  । सरकारले भदौ महिनासम्म सरकारले एक खर्ब ३३ अर्ब राजस्व संकलन गरेको थियो ।  संकलित राजस्व कूल राजस्व लक्ष्यको १६.४३ प्रतिशत हो ।

चालु आवको लागि ११ खर्ब १२ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको छ ।