लुम्बिनीमा भिक्षुलाई कठिन दान

Oct 17th, 2019

रुपन्देही, ३० असोज (रासस)

वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ ।

बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन (कठिन) उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार दान गरिएको हो । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । पोखराका दाता पानश्री गुरुङ परिवारको आर्थिक सहयोगमा आयोजना गरिएको कठिन उत्सवका अवसरमा दान पुण्य गरिएको हो ।

लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका भिक्षुलाई लक्षित गरी बौद्ध परम्पराअनुसार कथिन चिबर दान, अष्टपरिष्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेंलो बस्त्र (चीवर) र भिक्षापात्रलाई चिवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीनमहीने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

कठिन उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बुद्ध जन्मस्थलमा धार्मिक गतिविधि बढ्दै गएको बताउनुभयो । उहाँले बुद्धको शिक्षा र दर्शनको प्रचार गरी सबै नागरिकलाई असल मार्गमा हिँडाउन जरुरी रहेको बताउनुभयो ।

धर्मदेशना गर्दै अन्तर्राष्ट्रिय परियत्ती उदय विहार रुपन्देहीका प्रमुख भिक्षु ज्ञानेन्द्रले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने बताउनुभयो । उहाँले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाइ कठिन दान भनिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले लुम्बिनीमा धार्मिक गतिविधि बढाएर बुद्धमय वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बौद्ध शिक्षाको विकासमा योगदान पु¥याएको भन्दै यानमती गुरुआमा, वर्षवास कार्यक्रमका संयोजक राजकुमारी गुरुङ, बौद्ध महिला समितिका सचिव कल्पना हरिजन, समाजसेवी रामलखन हरिजन, बौद्ध उपासक देव शाक्य र दातालाई सम्मान गरिएको थियो ।

कार्यक्रमअघि लुम्बिनीको महिलवार बजारबाट बृहत् झाँकीसहितको शोभायात्रा निकालिएको थियो । ¥यालीमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, उपप्रमुख, लुम्बिनी विकास कोष, वडा प्रतिनिधि, लुम्बिनी बौद्ध महिला समिति, युवा समिति, थारु बौद्ध समिति, लुम्बिनी होटल एशोशिएसन, जनपथ र सशस्त्र र दङ्गा प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । कठिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परित्राण पाठ तथा बुद्ध पूजा गरिएको थियो । प्रत्येक असार महीना पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षु वर्षाबास बस्ने परम्परा छ । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव र किरा जमिन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षाबास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षु वर्षाबास बस्नुभएको थियो ।