• गृहपृष्ठ
  • पुरानो सेतक चिनी बिक्री नहुँदै नयाँ संकलन गर्न अनुमति

पुरानो सेतक चिनी बिक्री नहुँदै नयाँ संकलन गर्न अनुमति

Oct 17th, 2019

हेमन्त केसी
जाजरकोट, ३० असोज (रासस)

अघिल्लो आर्थिक वर्षको सेतक चिनी (खिरौलो) बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । 

जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ ।
 
अहिले बारेकोटका जङ्गलमा सेतक चिनी निकाल्नका लागि पाटनभरि सयौँ स्थानीयवासी पुगेका छन् । वर्षेनी यहाँका सामुदायिक वन समूह र राष्ट्रिय वन समूहमा जथाभावी सेतक चिनी सङ्कलन हुँदै आएको छ । सामुदायिक वन उपभोक्ता समितिको मिलेमतोमा जथाभावी सेतक चिनी निकाल्ने काम भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी यहाँका सामुदायिक वनबाट सेतक चिनी निकालिएको हो । सयौँ क्विन्टल पुरानो सेतक चिनी जिल्लाको दल्ली, कालिमाटीलगायतका ठाउँमा ढुवानीका लागि अनुमति नपाएर थन्किएको बेला नयाँ सेतक चिनी सङ्कलनका लागि अनुमति दिँदा थप समस्या आएको छ । पुरानो सेतक चिनी बिक्री नभएर तनाव भएको बेला नयाँ सङ्कलन गरी काम अगाडि बढाउँदा थप समस्या परेको व्यापारी खिमबहादुर शाहीले बताउनुभयो । केही सेतक चिनी चोरबाटो निर्यात भए पनि अधिकांश जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न ठाउँमा थन्किएको छ । 

निकासीको छुटपुर्जी नपाउँदा ५ दर्जन व्यापारी मर्कामा परेका छन् । वन विभागमा वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० स्वीकृतिमा भएको ढिलाइले छुट पुर्जी नपाउँदा सेतक चिनी पाटनमै थन्किएको हो । पुर्जी अभावमा समयमा निकासी गर्न नपाउँदा व्यापारीको करोडौंको लगानी डुब्न थालेको छ । उक्त जडीबुटी निकासीका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत नहुँदा डिभिजन वन कार्यालयले छुटपुर्जी दिन नसकेको हो । 

प्रतिवेदन स्वीकृतमा ढिलाइ हुँदा सेतक चिनीका व्यापारीलाई मर्का पर्नुका साथै लाखौं राजस्वसमेत डुब्ने खतरा बढेको डिभिजन वन कार्यालयले जनाएको छ । सेतक चिनी कुहिन र चोरी हुन थालेपछि कतिपय व्यापारीले अवैध तरिकाले निकासी गर्न थालेका छन् । 

बारेकोट गाउँपालिका–४ स्थित ढोटेचौर समुदायिक वन समूहलगायत ठाउँमा सेतक चिनी जथाभावी निकाल्ने काम भएको छ । सामुदायिक वनले सङ्कलनकर्ताबाट कुनै पनि रकम नलिएरै सङ्कलन गर्न दिएको पाइएको छ । वर्षेनी यसरी नै यहाँका सामुदायिक वनबाट जडीबुटी सङ्कलन भएमा सबै नास हुने वातावरणविद्को भनाइ छ । डिभिजन वन कार्यालयले समेत चासो नदेखाउँदा दैनिक समस्या थपिदै गएको छ । स्थानीय सरकार, समुदायिक वन, डिभिजन वन कार्यालयले समेत चासो नदिँदा समस्या हुँदै आएको छ ।
 
सामुदायिक वनबाट कति मात्रामा जडीबुटी निकाल्न मिल्ने हो भन्नेसम्म थाहा नपाई जथाभावी जडीबुटी निकाल्दा वातावरणमा पर्ने प्रभाव हिसाब नभएको विज्ञहरु बताउँछन् । सेतक चिनी सङ्कलन गरी पकाएर बनाउँदा जङ्गलसमेत जथाभावी काटेर विनाश भएको छ ।
 
गाउँपालिकाले सेतक चिनीको राजश्व जम्मा गरेनन् 
 
अघिल्लो आर्थिक वर्षमा सेतक चिनी सङ्कलनका लागि आफै अनुमति दिएको बारेकोट गाउँपालिकाले राज्यको मूलखातामा राजश्व जम्मा नगरेको पाइएको छ । मलेपको प्रतिवेदनमा बारेकोट गाउँपालिकाले लाखौँ रकम मूलखातामा नफर्काएको देखिएको छ । गाउँपालिकाले सङ्कलनपुर्जी दिन नमिल्ने भए पनि जथाभावी दिँदा समस्या उत्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ । यो वर्ष भने जथाभावी सङ्कलन भए पनि कसैले त्यसतर्फ चिन्ता व्यक्त गरेका छैनन् ।