• गृहपृष्ठ
  • अमेरिकासँग वार्ताका लागि तालिबान खुला

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

Oct 16th, 2019

काबुल, १ भदौ (रासस/एएफपी) 
अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताउनुभएको छ । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो ।

तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्याली लक्षित आत्मघाती बम आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।

तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूहको भूमिका रहेको र त्यो सही कदम भएको दाबी गर्नुभएको छ । 

बीबीसीलाई दिएको प्रतिक्रियामा स्टानिक्जाईले अमेरिकासँगको वार्ताका क्रममा हजारौं तालिबानीको हत्या गरेको अमेरिकी प्रतिनिधिहरुले नै स्वीकार गरेको बताउनुभयो । विद्रोहीहरुले वार्ताकै बीचमा पनि युद्ध लड्नुको विकल्प नभएकामा उहाँले जोड दिनुभयो । 

उहाँले तालिबानका तर्फबाट वार्ताको ढोका अद्यापी खुला रहेको स्पष्ट गर्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अफगानी नेताहरुसँग क्याम्प डेभिडमा सेप्टेम्बर ११ अघि आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको घोषणा गर्नुभएको थियो । तालिबान समूहले काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको थियो ।

उहाँले तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गर्नुभएको थियो ।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेकाले पनि आगामी दिनमा निकै बढी हिंसाका घटना हुने अनुमान गरिएका छन् । अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको चुनाव हुँदैछ । यो चुनावलाई तालिबान समूहले बहिस्कार गरेको छ ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले चुनावी सभामा उपस्थित नहुन सर्वसाधारणलाई पहिल्यै जानकारी गराइएको बताउँदै तालिबानको अनुरोधलाई अवज्ञा गर्नेमाथि हुने क्षतिको जिम्मेवार आफूहरु नहुने बताउनुभयो ।

मुजाहिदले यसै महिनाको शुरुमा एएफपीसँग कुरा गर्दै वार्ता र संघर्ष दुबै सँगसँगै अघि बढ्ने बताउनुभएको थियो । यदि अमेरिकी राष्ट्रपतिले वार्ता स्थगित गरे संघर्षको बाटो मात्र बाँकी रहने उहाँले स्पष्ट गर्नुभयो ।