• गृहपृष्ठ
  • चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद

चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद

Oct 16th, 2019

जोलियाट, इलिनोइस, २९ भदौ 
अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।

विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ । डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर सन् २०१५ देखि इन्डियाना राज्यले डा क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो । इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरवाही गरेको भन्दै सचेत गराएको थियो ।

स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीतिहरु अनुशरण नगर्ने जनाएको थियो । गर्भपतनका बारेमा कम्तीमा १८ घण्टा अघि जनचेतनामूलक तालिम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाई छ । तालिम लिएको विषयलाई राम्रोसँग दस्तावेजीकरण नगरेको र लापरबाही गरेको थियो ।

क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे । साउथ बेन्ड ट्रिब्युन अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौंलाई सेवा दिएका थिए । 

इन्डियानाका जीवनको अधिकार भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी भन्नुभएको छ, “डा क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौं भ्रुणको अवेशष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ ।” उहाँले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे नरहेको खोजी गर्नुपर्ने बताउनुभयो ।

फिच्टरले गर्भपतनले अमेरिकामा उद्योगको रुप लिएकाले यसलाई गम्भीर छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । यस घटनाका बारेमा इन्डियाना राज्यका गभर्नर एरिक होल्कोम्बको प्रतिक्रिया लिन खोजिए पनि सम्भव भएन ।

गर्भपतनसम्बन्धी सरकारी नियमहरुको पूर्ण पालना नगरेको, कर्मचारी नराखेको तथा गर्भपतन अघि–पछि सेवा नदिएको भन्दै सन् २०१६ को नोभेम्बरमा इन्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले क्लोपफरको लाइसेन्स (अनुमति पत्र) निलम्बन गरेको थियो । 

डा क्लोपफरले त्यसयता गर्भपतन सेवा बन्द गरेका थिए, तर उनले बोर्ड समक्ष आफ्नो ४३ वर्षको सेवा अवधिमा एक जना बिरामीको पनि ज्यान नगएको बताएका थिए । 

इन्डियाना राज्यमा रिपब्लीकन पार्टीकी सांसद ज्याकी वालोस्र्कीले पछिल्लो घटनाको पटाक्षेपले आफूलाई अत्यन्त दुःखित बनाएको बताउनुभएको छ । 

गत मे महिनामा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी इन्डियाना राज्यको कानुनलाई सदर गरेको थियो जसमा गर्भपात गरिएको भ्रुणका अवशेष संग्रह गर्न नपाइने र त्यसलाई विसर्जन गर्नुपर्ने व्यवस्था छ । उक्त कानुनमा सन् २०१६ मा उपराष्ट्रपति माइक पेन्सले हस्ताक्षर गर्नुभएको थियो । त्यस बखत उहाँ इन्डियाना राज्यका गभर्नर हुनुहुन्थ्यो । तर यस विरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । (रासस/एपी)