• गृहपृष्ठ
  • साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता

साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता

Oct 16th, 2019

रियाद, साउदी अरब, २९ असोज (रासस/एएनआई)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गर्नुभएको छ । 

उहाँहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

खाडी क्षेत्रको भ्रमणका क्रममा साउदी अरब पुग्नु भएका पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशको आपसी सम्वन्ध, दुई पक्षीय हित र साझा चासोका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।  

साउदी अरबका युवराज र पाकिस्तानी प्रधानमन्त्री खानबीच गहिरो आत्मीय सम्बन्ध रहेको बताउने गरिएको छ । 

साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उहाँहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समसामयीक विषयमा छलफल गर्नुभएको छ ।

“प्रधानमन्त्री खान छोटो समयका लागि साउदी अरब आउनुभएको हो, यस अवसरमा उहाँले साउदी राजा र युवराज दुवै जनालाई भेटवार्ता गर्नुभएको छ,” मन्त्रालयको आधिकारीक ट्वीटर हेण्डलमा लेखिएको छ ।  

छलफलको विषयवस्तुका बारेमा प्रष्ट पार्दै मन्त्रालयले उहाँहरुका बीचमा पछिल्लो विकसित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमका बारेमा छलफल भएको जनाएको छ । 

साथै उहाँहरुले विकसित घटनाक्रमहरुलाई कसरी सम्बोधन गर्ने र कसरी लिने भन्ने उपायहरुका बारेमा पनि कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री खान इरानको दुईदिने भ्रमण सकेर साउदी अरब आउनु भएको हो । खानले यस वर्ष मात्रै योसहित साउदी अरबको भ्रमण तीन पटक गर्नुभएको छ । 

यसअघि उहाँले यही वर्षको मे र सेप्टेम्बरमा साउदी अरबको भ्रमण गर्नुभएको थियो भने साउदी अरबको तर्फबाट युवराज मोहम्मद बिन सल्मानले फेव्रुअरीमा पाकिस्तानको राजकीय भ्रमण गर्नुभएको थियो ।  

यस पटक भने उहाँ अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला खाडी क्षेत्रको भ्रमणमा निस्कनु भएको हो । 

अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न आउनु भएको हो । 

खाडी क्षेत्रको शान्ति र सुरक्षा प्रवद्र्धनका लागि सहयोग गर्न उहाँको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ । 

इरान भने उहाँ यही वर्ष दोस्रो पटक जानु भएको हो । 

गत महिना प्रधानमन्त्री खानले खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरब र अमेरिकाले आफूलाई आग्रह गरेको बताउनुभएको थियो । 

गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ ।