• गृहपृष्ठ
  • खाद्य दिवस मनाइन्छ धुमधामले, तर छैन देशमा पर्याप्त खाद्यायन्न

खाद्य दिवस मनाइन्छ धुमधामले, तर छैन देशमा पर्याप्त खाद्यायन्न

Oct 16th, 2019

काठमाडौं, २९ असोज 
विश्वभर ३९ औँ विश्व खाद्य दिवस मनाइँदै छ । नेपालले पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । तर,  कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन । नेपालले विभिन्न देशबाट वार्षिक झण्डै ५० अर्ब हारहारीको कृषि उपज आयात गरिरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालले करिब साढे एक खर्ब बराबरको कृषि उपज आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मात्र नेपालले ४७ अर्ब ९७ करोडको खाद्यन्न आयात गरेको छ । त्यस्तै, २६ अर्ब ४६ करोड ७५ लाखको तरकारी र १७ अर्ब तीन करोड ९६ लाखको बराबरका फलफूल गत आर्थिक वर्षमा नेपाल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । बाहिरबाट अत्यधिक आयात हुनेहरुमा धान, मकै, गहुँ लगायतका खाद्यान्न छन् ।

तथ्याकं अनुसार नेपालको निर्यातको अवस्था भने निकै निराशाजनक छ ।आयात साढे एक खर्ब छ भने निर्यात २० अर्ब ४ करोडको मात्रै भएको छ । यस अवधिमा कुल ८७ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ ।

खाद्य दिवसको इतिहास 
नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा मनाइएकामे यो दिवस संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ मनाउने गरिन्छ ।

सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउँदै आएको छ । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यो निर्णयसँगै सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको थियो । ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ मुल नाराका साथ खाद्य दिवसमा सरिक भएको नेपालले ३८ वर्ष पुरा गरेको छ । तर नारा र घोषणामा प्रतिबद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन ।